काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन्।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्नु गौरवको विषय भएको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन शुभकामना दिए। उनले जिते वा हारे पनि राज्यले खेलाडीको सम्मानमा कमी हुन नदिने बताए।
असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ खेलाडीसहित २११ सदस्यीय टोली सहभागी हुँदैछ। टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा प्राविधिक र ६ सदस्यीय मेडिकल टोलीसहित अन्य अधिकारी सहभागी हुनेछन्।
नेपालले यसपटक कबड्डीमा सबैभन्दा धेरै २४ खेलाडी उतार्दैछ। क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा ८ र बक्सिङमा ७ खेलाडी सहभागी हुनेछन्।
खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर तयारी गराइएको छ। विभिन्न खेलको तालिकाअनुसार नेपाली टोली जापान जाने क्रमसमेत सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।