राजविराज– राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले बच्चा जन्माएको भिडियो सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठेको छ। तर महिलालाई किन अस्पतालभित्र उपचार दिइएन र उनी कसरी गेटबाहिरै प्रसूति हुन पुगिन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अस्पतालको मूल गेटबाहिर सडकपेटीमा महिला प्रसूत अवस्थामा देखिन्छिन्। बच्चा जन्मिसकेको र सालसमेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनाबारे विभिन्न प्रतिक्रिया आएका छन्।
घटनाप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र दोषी देखिए आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने बताएका छन्।
डा. झाका अनुसार ती महिलाका लागि अस्पतालमा बेड तयार थियो र जाँचका लागि पठाइएको थियो। तर उनी पुनः अस्पतालमा फर्किएर नआएको आफूले जानकारी पाएको उनले बताए।
‘बिरामीका लागि बेड तयार थियो। जाँचका लागि पठाइएको थियो। फर्किएर आउनुभएन भन्ने सुनेको छु,’ उनले भने, ‘म काठमाडौंमा छु। मिलाउँदैछु। बाँकी थप छानबिन गरेर पत्ता लगाउँछु।’
महिलासँग उपचारका लागि पैसा नभएका कारण अस्पतालले सेवा नदिएको भन्ने चर्चा भए पनि आफूलाई त्यसबारे जानकारी नभएको उनको भनाइ छ।
‘पैसाको इस्यु थियो भने भन्नुपर्ने थियो। त्यो कुरा नबताइएको मैले बुझेको छु,’ उनले भने।
घटनापछि अस्पतालको सामाजिक सेवा इकाई र स्वास्थ्य सेवामा आर्थिक अभाव भएका बिरामीको पहुँचबारे समेत प्रश्न उठेको छ। चिकित्सक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनालाई दुःखद भन्दै निष्पक्ष छानबिन र दोषी देखिए कारबाहीको माग गरेका छन्।
यद्यपि, सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र आरोपले मात्र घटनाको वास्तविकता पुष्टि हुँदैन। महिलालाई अस्पतालले के उपचार दिएको थियो, उनलाई कहाँ र किन पठाइएको थियो, अस्पतालबाट बाहिरिएपछि के भयो तथा आर्थिक कारणले उपचारमा कुनै अवरोध भयो वा भएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने देखिन्छ।
अस्पताल प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए सम्बन्धित व्यक्ति वा पक्षमाथि आवश्यक कारबाही गर्ने जनाएको छ। अहिले मुख्य प्रश्न भनेकै अस्पतालको गेटबाहिरै महिला प्रसूत हुनुपर्ने अवस्था किन आयो? भन्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।