काठमाडौं– जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा समाजले गोल्याणलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो।
गोल्याण नेतृत्वको गोल्याण फाउण्डेशनले जेनजी आन्दोलनका सहिदका सन्तानलाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति तथा सहिदका बुवाआमालाई आजीवन स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ।
फाउण्डेशनका अनुसार हाल २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ सहिदका ४३ जना आमा–बुवालाई वार्षिक १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा प्रदान गरिएको छ। शैक्षिकवृत्ति तथा स्वास्थ्य बीमा कार्यक्रमका लागि फाउण्डेशनले वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ।
सम्मान ग्रहणपछि गोल्याणले सहिद परिवारका लागि गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी प्रतिबद्धता कुनै एक वर्ष वा कार्यक्रमका लागि मात्र नभएको बताए।
‘यो बचन आज गरेर भोलि बिर्सिने बचन होइन,’ उनले भने, ‘सहिदहरूको सम्मानमा उहाँहरूका सन्तान र बुवाआमाको सुरक्षित भविष्यका लागि यो निरन्तर रहन्छ।’
-1789039924.jpg)
जेनजी आन्दोलनपछि सहिद परिवार तथा उनीहरूका सन्तान अध्ययन गर्ने विद्यालयमा पुगेपछि आफूलाई सहिद परिवारको सुरक्षित भविष्यका लागि काम गर्न थप कर्तव्यबोध भएको उनले बताए।
गोल्याणले सहिदहरूले देखेको सुरक्षित, प्रगतिशील, शान्त र न्यायपूर्ण नेपाल निर्माणको सपना सबै मिलेर पूरा गर्नुपर्ने बताए।
‘हामीले सहिदहरूको बलिदानलाई बिर्सेका छैनौं, देश बनाउने हरेक नेपालीको कर्तव्य हो,’ उनले भने, ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब पालो हाम्रो हो।’
फाउण्डेशनले शैक्षिकवृत्तिअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यसमा विद्यालय शुल्क, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, भर्ना, पुस्तक तथा स्टेशनरी र पोसाकलगायतका खर्च समेटिएका छन्।
शैक्षिकवृत्तिमा आबद्धमध्ये चितवनकी आकृति राईले २०८२ सालको एसईई उत्तीर्ण गरेकी छन् भने तीन बालबालिकाले सोही वर्ष अक्षरारम्भ गरेका छन्। फाउण्डेशनले आकृतिको आगामी तीन वर्ष र अक्षरारम्भ गरेका तीन बालबालिकाको करिब १५ वर्षसम्मको शैक्षिक खर्च व्यहोर्ने जनाएको छ।
फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्तिमा समेटिन नसकेका सहिद परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो।
यसअन्तर्गत सहिदका बुवाआमालाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँसम्मको आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइएको छ। फाउण्डेशनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत पहिलो वर्ष करिब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।