राजविराज– राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले बच्चा जन्माएको घटनालाई लिएर अस्पताल प्रशासनमाथि प्रश्न उठेको छ।
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटभन्दा बाहिर सडकपेटीमा एक महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल (प्लासेन्टा) समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका हुन्।
सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको र बाध्य भएर सडक पेटीमै बच्चा जन्माएको पीडित पक्षको दाबी छ ।
घटना बुधबार बिहान करिब साढे २ बजेको हो । पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश महिला राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान हुन् ।
मंगलबार राति डेढ बजे व्यथा लागेपछि बबिता श्रीमान् हरेराम र दुई जना सासु नाता पर्ने महिलालाई लिएर सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, प्रयोगशालाबाट रगत र पिसाब परीक्षण गर्न भनिन् । त्यसका लागि २ हजार ५००रुपैयाँ लाग्ने अस्पतालले बताएको थियो ।
तर, आफू विपन्न रहेको र पैसा नभएको बबिताले सुनाइन् । उनले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै चेकजाँच नगराएको बताइन् । तर नर्सले जाँच नभई यहाँ प्रसूति गराउन नमिल्ने भन्दै बाहिर निस्किन हप्काएको उनको दाबी छ ।
‘मैले भनें– दिदी, यसअघि मेरा तीन बच्चा हुँदा कुनै जाँच गराएको थिइनँ । तर उहाँले रगत र अल्ट्रासाउन्डको २५ सय रुपैयाँ लाग्ने बताउनुभयो । मसँग पैसा थिएन । मैले बिहान भएपछि अल्ट्रासाउन्ड गराउँछु, जाँच गराउँछु, भर्ना गरिदिनुस् भनेर आग्रह गरेँ,’ बबिताले नेपाललाइभसँग भनिन्, ‘तर जाँचविना कुनै हालतमा भर्ना नलिने भन्दै हप्काएर ती दिदीले निकालिदिनुभयो ।’
पैसा नभएका कारण जाँच गराउन नसकिने र अस्पतालले भर्ना नलिने भएपछि बाध्य भएर बबिता परिवारसहित अस्पताल बाहिर आइन् । उनी एक औषधि पसल अगाडि पुगिन् । त्यहाँ उनले औषधि पसलेलाई डाक्टरसँग चेक गराइदिन आग्रह गरिन् ।
औषधि पसलेले अहिले यहीँ बस्न भन्दै बिहान चिकित्सक आएपछि जाँच गराइदिने आश्वासन दिएको बबिताले सुनाइन् । केहीबेरपछि बबितालाई प्रसव पीडाले च्याप्यो । उनी त्यहीँ छट्पटाउन थालिन् । सँगै पुगेका महिलाले उनको देखभाल गरे । श्रीमान् तनावमा परे । तर उनीहरूसँग अर्को उपाय थिएन । एकछिनपछि बबिताले छोरा जन्माइन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य सेवामा मानवीय संवेदना, सेवा प्रवाह र जिम्मेवारीबारे प्रश्न उठाउँदै विभिन्न प्रतिक्रिया आएका छन्।
घटनाप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन समिति गठन गरी दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
डा. झाले आफू अहिले काठमाडौंमा रहेको र घटनाबारे आवश्यक समन्वय गरिरहेको बताए।
‘बिरामीका लागि बेड तयार थियो। जाँचका लागि पठाइएको थियो। फर्किएर आउनुभएन भन्ने सुनेको छु,’ उनले भने, ‘म काठमाडौंमा छु। मिलाउँदैछु। बाँकी थप छानविन गरेर पत्ता लगाउँछु।’
अस्पताल प्रशासनले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषी देखिएका व्यक्ति वा पक्षमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।
सरकारी र निजी अस्पतालमा १० प्रतिशत विपन्न गरिबको लागि बेड छुट्याउने कानुनी व्यवस्था छ । तर संघीय सरकार अन्तर्गतको अस्पतालबाट नै प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई लखेटिएको र फुटपाथमा शिशु जन्माउनु परेको यो घटनाले नेपालको स्वास्थ्य उपचार सेवाको प्रणालीलाई गिज्याइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।