काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थान, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।