काठमाडौं– रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्न उक्त रकम प्रदान गरेको जनाएको छ।
संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार कुल सहयोगमध्ये १६ लाख रुपैयाँ संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १४ लाख ६ सय ६५ रुपैयाँ कर्मचारीबाट संकलन गरिएको हो।
संस्थाले आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गरे पनि बाढी प्रभावित नागरिकलाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री भने आफैंले वितरण गर्ने जनाएको छ।
संस्थाकी अध्यक्ष भगवती चौधरीले राष्ट्र नै विपत्तिको चपेटामा परेको अवस्थामा सरकारको राहत अभियानमा निजी क्षेत्र र संस्थाहरू पनि जोडिनुपर्ने बताइन्।
‘यो विशुद्ध राष्ट्र निर्माण र मानवीय सहयोग हो,’ अध्यक्ष चौधरीले भनिन्, ‘आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमार्फत गरे पनि पीडितहरूलाई आवश्यक अन्य जिन्सी सामग्री संस्था आफैंले वितरण गर्नेछ।’
संस्थाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था हो। संस्थाले देशका ४० जिल्लामा १५९ शाखामार्फत गरिब तथा विपन्न समुदायका महिलालाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्थामा हाल २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।