काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सुरु गरेको छ।
सरकारसँग मौज्दात रहेको हैजाविरुद्धको १ लाख २ हजार १२३ डोज खोप बाढी प्रभावित रसुवा र नुवाकोटमा पठाउन थालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पीएमओ नेपाल फेसबूक पेजमा जानकारी दिँदै रसुवाका लागि मुखबाट दिइने २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको बताइएको छ । रसुवामा भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ। नुवाकोटमा पनि यो साताभित्रै खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
स्वास्थ्य स्वयंसेवकमार्फत वडा कार्यालयस्तरमा प्रभावित क्षेत्रका नागरिकलाई खोप खुवाइने बताइएको छ । एक वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिइने सरकारको योजना छ। बाढीका कारण सरसफाइ तथा खानेपानीमा समस्या उत्पन्न भएकाले सम्भावित हैजाको महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको हो।
यसैगरी, बाढी प्रभावित रसुवा र नुवाकोटमा टिडी तथा दादुरा–रुबेला खोप अभियानसमेत सञ्चालन गर्ने तयारी गरिएको छ। उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।
दादुरा–रुबेला खोप भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी दुई साताभित्र सञ्चालन गर्ने सरकारको योजना छ।
खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीका रूपमा खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको हो।
खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।