काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले मेगन बोल्डिनलाई कार्यबाहक राजदूतका रुपमा काठमाडौं बोलाएको छ । बाढीपछिको प्रतिकार्यका लागि मेगनले आगामी केही महिना नेपालका लागि कार्यबाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने दूतावासले जनाएको छ।
अमेरिकी दूतावासका अनुसार बोल्डिनले नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्ने तथा विपद्पछिको प्रतिकार्य र पुनर्लाभका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछिन्। उनले नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा नेपाल सरकार तथा अन्य साझेदारसँग समन्वय गर्दै अमेरिकी दूतावासका प्रतिकार्यसम्बन्धी कार्यलाई अघि बढाउनेछिन्।
बोल्डिन यसअघि बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन्। उनी सन् २०२४ को अगस्टदेखि उक्त जिम्मेवारीमा रहेकी थिइन्।
वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वसम्बन्धी लामो अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ। उनले युक्रेन, इराक र बंगलादेशलगायतका मुलुकमा काम गर्नुका साथै वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत जिम्मेवारी सम्हालेकी छन्।
नेपालमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी रहेका बेला बोल्डिनको काठमाडौं आगमन भएको हो।
दूतावासले राहत तथा पुनर्लाभका प्रयासहरू जारी रहेको अवस्थामा बोल्डिनको नेपाल आगमनले नेपाल सरकार तथा अन्य साझेदारसँग निकट रहेर काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ।
बोल्डिनले नेपालमा रहँदा विपद्बाट प्रभावित अमेरिकी नागरिकको आवश्यकतामा विशेष ध्यान दिनुका साथै अमेरिकी दूतावासको प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कामलाई समन्वय गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।