एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।
ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिए ।
यसको जवाफमा इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । उनले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीसमेत जोखिममा पर्ने बताए ।
यसैबीच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्यांकर नष्ट गर्ने चेतावनी दिएका छन् । उनले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताए ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्यांकर आईआरजीसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्यांकर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताए ।
अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्नसक्ने चिन्ता बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।