काठमाडौं– रुससँग जारी युद्धका बीच युक्रेन सरकारले देशमा सञ्चालन भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) को कारोबारलाई कानुनी दायरामा ल्याएर कर लगाउने प्रस्ताव अघि बढाएको छ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार यस्तो व्यवस्था लागू भए सरकारलाई वार्षिक करिब २ करोड ५० लाख डलर अतिरिक्त राजस्व प्राप्त हुन सक्छ। एक युक्रेनी सांसदका अनुसार उक्त रकमबाट करिब ३० हजार ड्रोन खरिद गर्न सकिन्छ।
युक्रेनमा पोर्नोग्राफीलाई हाल पूर्ण रूपमा कानुनी मान्यता दिइएको छैन। प्रस्तावका समर्थकहरूले कारोबारलाई कानुनी बनाएर कर उठाउनुका साथै यस क्षेत्रमा हुने भ्रष्टाचार घटाउन सकिने तर्क गरेका छन्। उनीहरूका अनुसार यसले प्रहरीलाई एडल्ट कन्टेन्टसम्बन्धी मुद्दाभन्दा गम्भीर अपराध र बाल यौन शोषणका घटनामा बढी ध्यान केन्द्रित गर्न पनि सहयोग गर्नेछ।
युक्रेनको संसद्ले जुलाईमा सम्बन्धित विधेयकलाई पहिलो चरणको मतदानबाट पारित गरिसकेको छ। पहिलो मतदानमा २३१ सांसदले विधेयकको पक्षमा र ८ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ सांसद मतदानमा सहभागी भएनन्। अब विधेयक दोस्रो चरणको मतदानका लागि पेस गरिनेछ।
विधेयकका सहलेखक तथा वित्त, कर र बजेटसम्बन्धी संसदीय समितिका प्रमुख सांसद यारोस्लाभ झेलेजनियाकले वयस्कबीच सहमतिमा बनाइने एडल्ट कन्टेन्टलाई अपराधको दायराबाट हटाउनुपर्ने पक्षमा वकालत गरेका छन्।
युक्रेनमा पछिल्ला वर्षहरूमा अनलाइन एडल्ट कन्टेन्टको कारोबार बढेको छ। विशेषगरी सदस्यता लिएर सामग्री हेर्न सकिने ‘ओन्लीफ्यान्स’जस्ता प्लेटफर्ममा ठूलो संख्यामा युक्रेनी क्रिएटर सक्रिय छन्।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार सन् २०२३ मा करिब ८ हजार युक्रेनीले ओन्लीफ्यान्सबाट १३ करोड १० लाख डलरभन्दा बढी आम्दानी गरेका थिए।
तर‚ युक्रेनको विद्यमान कानुनले पोर्नोग्राफिक सामग्री उत्पादन र वितरणलाई गैरकानुनी मानेका कारण क्रिएटरहरूका लागि आफ्नो आम्दानी औपचारिक रूपमा घोषणा गरेर कर तिर्नसमेत जोखिमपूर्ण अवस्था रहेको रिपोर्टमा उल्लेख छ। आम्दानी घोषणा गर्दा उनीहरूको पहिचान खुल्ने र पोर्नोग्राफीसम्बन्धी कानुनअन्तर्गत कारबाही हुन सक्ने डर रहन्छ।
केही क्रिएटरले आम्दानी घोषणा गरेर कर तिर्ने प्रयास गरे पनि त्यसपछि उनीहरूले करसम्बन्धी विषयसँगै पोर्नोग्राफी कानुनअन्तर्गत अनुसन्धानको सामना गर्नुपरेको बताइएको छ।
युक्रेनले फेब्रुअरी २०२२ देखि रुससँग युद्ध गरिरहेको छ। युद्धका कारण देशको बजेटमा रक्षा र सुरक्षाको हिस्सा निकै बढेको छ।
विश्व बैंकका अनुसार सन् २०२४ सम्म युक्रेनले युद्धमा करिब १७१ अर्ब डलर खर्च गरिसकेको थियो। सन् २०२५ मा सुरक्षा तथा रक्षामा करिब ३.८३ ट्रिलियन ह्रिभ्निया (युक्रेनको आधिकारिक राष्ट्रिय मुद्रा) खर्च भएको थियो, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४२.९ प्रतिशत हो।
अगस्ट २०२६ मा युक्रेनका नयाँ रक्षामन्त्रीले सन् २०२६ को सैन्य बजेटमा करिब २७ अर्ब डलरको कमी रहेको बताएका थिए।
त्यसको तुलनामा एडल्ट कन्टेन्टबाट सम्भावित रूपमा उठ्ने वार्षिक २ करोड ५० लाख डलर निकै सानो रकम हो। यद्यपि, युद्धका कारण आर्थिक दबाबमा रहेको युक्रेनका लागि विद्यमान कारोबारबाट अतिरिक्त कर राजस्व जुटाउने अर्को स्रोत भने बन्न सक्ने समर्थकहरूको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।