काठमाडौं– चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा पहिरोपछि उत्पन्न हुन सक्ने थप विपद्को जोखिम न्यूनीकरण गर्न चिनियाँ विज्ञहरूले पहिरो, ताल, हिमनदी तथा हिमतालको निगरानी तीव्र बनाएका छन्।
अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो चरणका प्राकृतिक विपद्बाट उद्धार टोलीलाई सुरक्षित राख्न विज्ञहरू परिचालन गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय विपद् तथा वातावरण संस्थानका अनुसन्धानकर्ता सु पेङचेङका अनुसार विपद्पछि विभिन्न सरकारी निकाय र अनुसन्धान संस्थाका विज्ञहरूलाई तत्काल परिचालन गरिएको थियो। उद्धार कार्यसँगै विज्ञहरूले पहिरोको कारण र सम्भावित भूगर्भीय जोखिमको अध्ययन थालेका थिए।
विपद् प्रभावित मुख्य उद्धार क्षेत्रसम्म पुग्ने सडक एक साताभन्दा कम समयमै पुनः सञ्चालनमा ल्याइएको थियो। त्यससँगै जोखिमको निरन्तर अनुगमन र मूल्याङ्कनलाई पनि अघि बढाइएको छ।
विपद्पछि बनेको अवरोध तालमा पानीको सतह र संरचनामा भइरहेको परिवर्तनलाई विशेष निगरानीमा राखिएको छ। अचानक ताल फुटेर पानी बग्दा तल्लो तटीय क्षेत्रमा थप क्षति हुन सक्ने भएकाले यसको अवस्थाबारे निरन्तर अध्ययन भइरहेको विज्ञहरूले बताएका छन्।
जोखिमको निगरानीका लागि रिमोट स्लोप डिफर्मेसन क्यामेरा, स्लोप रडार तथा स्याटेलाइट रिमोट सेन्सिङ प्रणालीजस्ता प्रविधि प्रयोग गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेका अस्थिर ढुंगा, माटो तथा लेदोका कारण पुनः पहिरो वा गेग्रान बहाव आउन सक्ने सम्भावनालाई समेत निगरानी गरिएको छ।
प्रभावित नदी बेसिनका पाँच गाउँ तथा आपत्कालीन उद्धारका लागि महत्वपूर्ण राष्ट्रिय राजमार्ग जी–२१६ आसपास विस्तृत भूगर्भीय जोखिम सर्वेक्षण गरिएको छ।
निगरानी मुख्य विपद् क्षेत्रमै सीमित नराखी आसपासका हिमनदी र हिमतालसम्म विस्तार गरिएको छ। उच्च हिमाली क्षेत्रमा रहेका हिमनदी तथा हिमतालमा भइरहेको परिवर्तनलाई स्याटेलाइट र हवाई रिमोट सेन्सिङमार्फत निगरानी भइरहेको छ।
यस कार्यमा आपत्कालीन व्यवस्थापन, प्राकृतिक स्रोत, मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी सरकारी निकायसँगै विभिन्न अनुसन्धान संस्थाका विज्ञ सहभागी छन्। ड्रोनबाट प्राप्त हुने प्रत्यक्ष तस्बिरमार्फत पनि अवस्थाको मूल्याङ्कन भइरहेको छ।
विज्ञहरूले प्राप्त गरेको सूचना तत्काल तल्लो क्षेत्रमा खटिएका उद्धार टोलीसम्म पठाउने व्यवस्था गरिएको छ। जोखिम देखिएमा उद्धार टोलीले आफ्नो कार्ययोजना तत्काल परिवर्तन गर्न सक्ने गरी समन्वयात्मक निगरानी प्रणाली सञ्चालनमा ल्याइएको बताइएको छ।
चिनियाँ विज्ञहरूका अनुसार यो संयुक्त निगरानी प्रणालीको उद्देश्य उद्धार कार्य जारी रहँदासम्म सम्भावित दोस्रो चरणका भूगर्भीय विपद्को पूर्वसूचना निरन्तर उपलब्ध गराउनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।