काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभमा ७२ घण्टासम्म आक्रमण रोक्न आदेश दिएका छन्। क्रेमलिनले शनिबार पुटिनको उक्त आदेशबारे जानकारी दिएको हो।
अमेरिकाका विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रुस पुगेकै बेला पुटिनले उक्त आदेश दिएका हुन्। उनीहरू रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप रोकिएको शान्ति वार्ता पुनः सुरु गराउने उद्देश्यले मस्को पुगेका हुन्।
युक्रेनले यसअघि नै विटकफ र कुशनरको भ्रमणबारे जानकारी दिएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकी दूतहरूको युक्रेन भ्रमणका क्रममा आफ्नो सेनाले हवाई आक्रमण रोक्ने बताएका थिए। उनले रुसलाई पनि त्यस्तै कदम चाल्न आग्रह गरेका थिए।
अमेरिकाले लामो समयदेखि रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयास गर्दै आएको छ। तर‚ पछिल्ला करिब ६ महिनामा ती प्रयासको गति केही सुस्त भएको बताइएको छ। यसको एउटा कारण अमेरिकाको ध्यान इरान युद्धमा बढी केन्द्रित हुनु रहेको बताइएको छ।
विटकफ र कुशनर यसअघि जनवरीमा पनि मस्को पुगेका थिए। त्यसबेला उनीहरूले क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेका थिए। यसपटक मस्को पुगेका उनीहरूलाई रुसी विशेष दूत किरिल दिमित्रिएभले स्वागत गरेका छन्।
दिमित्रिएभले कुशनर र विटकफसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘मस्कोमा शान्ति दूतहरूको स्वागत।’
विटकफ र कुशनरको पछिल्लो मस्को भ्रमण सीआईएका प्रमुख जोन र्याट्क्लिफले अगस्ट २५ मा रुस भ्रमण गरेको केही समयपछि भएको हो।
र्याट्क्लिफ र रुसी अधिकारीहरूबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे अमेरिका र रुस दुवैले औपचारिक जानकारी दिएका छैनन्। ट्रम्पले भने गत साता उक्त भेटलाई सामान्य प्रकृतिको बैठकका रूपमा व्याख्या गरेका थिए।
रुस र युक्रेनबीचको शान्ति वार्ता अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन। यसबीच किएभसहित युक्रेनका विभिन्न सहरमा रुसी हवाई आक्रमण बढेको छ। युक्रेनले पनि रुसभित्र ड्रोन आक्रमण जारी राखेको छ।
शुक्रबार रुसी ड्रोनले किएभस्थित युक्रेनको सुरक्षा निकाय एसबीयूको मुख्यालयलाई निशाना बनाएको थियो। एसबीयू रुसभित्र गरिने युक्रेनका विभिन्न लामो दूरीका आक्रमणमा पनि संलग्न रहेको बताइन्छ।
युक्रेनले रुसी सैन्य संरचनाका अतिरिक्त तेल प्रशोधन केन्द्र र विद्युतीय व्यापारसँग सम्बन्धित केन्द्रलाई समेत निशाना बनाउँदै आएको छ। युक्रेनले यस्ता आक्रमणको उद्देश्य रुसको युद्ध क्षमता र अर्थतन्त्रमा क्षति पुर्याउनु रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।