काठमाडौं– सरकारले सुरुङमा फसेका सयौँ मानिसको ६ दिनसम्म पनि उद्धार गर्न नसकेपछि इन्जिनियरहरूले आक्रोश व्यक्त गरेका छन् ।
सुरुङमा फसेका व्यक्तिहरूको अवस्था लामो समयसम्म अनिश्चित बन्दा उनीहरूको जीवनरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले दबाबमूलक अभियान सुरु गरेको हो।
एसोसिएसनले सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकलाई गुमाउन नहुने भन्दै सरकारलाई उद्धारमा कुनै ढिलाइ नगर्न आग्रह गरेको छ।
सुरुङमा फसेका इन्जिनियर र अन्य कामदारको ज्यान सरकारले बचाउने विश्वास टुट्न थालेकाले यस्तो अभियान सुरु गरेको एसोसिएसन अध्यक्ष सुवासचन्द्र बरालले बताए ।
एसोसिएसनले ‘सुरुङमा फसेका इन्जिनियर तथा अन्य कामदार गुमाउन चाहँदैनौं’ भन्दै दबाबमूलक अभियान सुरु गरेको छ ।
‘आज उनीहरू, भोलि हामी–सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकको जीवनका लागि आजै आवाज उठाऔं’ एसोसिएसनले सामाजिक सञ्जालमा सेयर गरेको सन्देशमा छ ।
‘हेलो सरकार, धेरै ढिलो भयो, तिमीमाथि विश्वास थियो तर अब डर लागिरहेको छ, हामी हाम्रा इन्जिनियर साथीहरू र अन्य सहयोगी कामदार गुमाउन चाहँदैनौं,’ एसोसिएसन अध्यक्ष बरालले राखेको पोस्टमा उल्लेख छ ।
उनले विपत्तिमा परेकाहरुको जीवन रक्षाका लागि सबैले आवाज उठाउन पनि आग्रह गरेका छन् ।
एसोसिएसनले बाढीमा खोजी, उद्धार तथा प्राविधिक सहयोगका लागि संस्थाले सरकारलाई आवश्यक सहयोग र समन्वय गरिरहेको जनाएको छ ।
एसोसिएसनले उद्धारका लागि सुरुदेखि नै पहल गरेकोमा सरकारले भने सहकार्य नगरेको बरालले बताए ।
भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब ६ सय इन्जिनियर तथा कामदार फसेको अनुमान गरिएको छ। विपद्को पाँच दिन बितिसक्दा पनि एक जनाको उद्धार हुन सकेको छैन।
लाङटाङ र माथिल्लो त्रिशूली–१ आयोजनामा पाँचौं दिनदेखि उद्धार थालिए पनि माथिल्लो त्रिशूली–३ बीमा अझै उद्धार सुरु हुन सकेको छैन। आयोजनाका अनुसार हेलिकप्टरबाट हेभी इक्विपमेन्ट लैजानुपर्ने भए पनि हालसम्म अनुमति नपाउँदा उद्धार प्रभावित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।