काठमाडौं– नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा बलियो भिक्टोरिया क्रिकेट एकेडेमी–११ विरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्य राखेको छ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा शनिबार दिउँसो १:१५ बजे हुने खेलमा नेपालले भिक्टोरियाको सामना गर्दैछ। भिक्टोरिया पाँच खेलमा चार जितसहित ८ अंक जोडेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपाल भने पाँच खेलबाट दुई जित र तीन हारसहित ४ अंकका साथ अंकतालिकाको सातौं स्थानमा छ। नेपालले आज जित हात पारे ६ अंकमा पुग्नेछ। तर‚ सेमिफाइनलमा पुग्नका लागि नेट रन रेट निर्णायक बन्ने अवस्थामा नेपालको चुनौती निकै कठिन छ।
हाल चौथो स्थानमा रहेको एनटी स्ट्राइकको नेट रन रेट –०.१७० छ भने नेपालको नेट रन रेट –१.०२६ रहेको छ। त्यसैले नेपालले एनटी स्ट्राइकलाई उछिन्न विशाल अन्तरको जित निकाल्नुपर्ने अवस्था छ।
नेपालले पछिल्ला पाँच खेलमा तीन हार र दुई जित बेहोरेको छ। यता भिक्टोरियाले पाँचमध्ये चार खेल जितेको छ। नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध ९ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो ।
सेमिफाइनल दौडबाट लगभग बाहिरिएपनि बलियो भिक्टोरियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई प्रतियोगिताको अन्त्य सुखद बनाउने अवसर भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।