इटहरि - इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए।
खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष खड्काले भने।
उनका अनुसार शिक्षा क्षेत्र केवल पठनपाठनमा मात्र सीमित नभई समाजमा आइपर्ने विपत्ति र संकटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कलेजले सहयोगको निर्णय गरेको हो।
नमुना कलेजले कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहिलोपटक पहल गरेको जनाएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन्।
बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यतिबेला सरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आ–आफ्नो स्तरबाट सहयोग गरिरहेका छन्।
यही क्रममा नमुना कलेजले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।