काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा आएको पहिरो तथा बाढीजन्य विपद्प्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।
राष्ट्रपति सीले हालै चीन र नेपालको सीमा नाका केरुङ–रसुवागढी क्षेत्रमा गम्भीर पहिरो तथा बाढीजन्य विपद् आएको, जसका कारण ठूलो मानवीय क्षति, बेपत्ता तथा सम्पत्तिको क्षति भएको उल्लेख गरेका छन्। चिनियाँ सरकार र जनताको तर्फबाट उनले ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद्प्रभावित क्षेत्रका जनताप्रति हार्दिक सहानुभूति प्रकट गरेका हुन् ।
राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार, प्रभावित स्थानीय बासिन्दाको स्थानान्तरण र बसोबासको व्यवस्था, घाइतेको तत्काल उपचार, मानवीय क्षतिलाई सकेसम्म न्यूनीकरण गर्ने तथा थप विपद् हुन नदिने कार्यमा चीनले आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेको बताएका छन्। चीन र नेपाल हिमाल र नदीले जोडिएका छिमेकी तथा साझा भविष्य भएका मुलुक रहेको उल्लेख गर्दै उनले चीन नेपाललाई उद्धार कार्यमा सक्रिय सहयोग गर्न तथा आफ्नो क्षमताअनुसार आवश्यक सहयोग र सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्।
दुई देशका जनताले हातेमालो गरी चाँडै यस विपद्लाई पार गर्दै आफ्ना घरहरू पुनर्निर्माण गर्ने विश्वास उनले व्यक्त गरेका छन्। सोही दिन चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।