काठमाडौं– बुधबार बिहान आएको भोटेकोशी बाढी र त्यसपछि सरकारले गरिरहेको उद्धार तथा राहतबारे प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले खोज तथा उद्धारलाई तीव्र बताएका छन् । हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ भने रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टरमार्फत उद्धार तथा राहत कार्य जारी छ। रसुवादेखि चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको छ।
प्रभावित क्षेत्रमा ३२ ट्रक तथा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ। सडक सम्पर्क पुनःस्थापनाका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ भने रसुवालाई पनि वैकल्पिक सडकमार्फत जोडिएको सरकारले जनाएको छ।
प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ सञ्चालनमा आएका छन्। नुवाकोटमा करिब ९० प्रतिशत विद्युत् सेवा सुचारु भएको छ। पुनःबाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारीसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।