काठमाडौं– चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै गएकाले जोखिम अझै कायम रहेको जानकारी दिएको छ ।
दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गई नदी थुनिएर ताल बनेको जनाएको हो।
दूतावासका अनुसार तालमा पानीको सतह उच्च रहेको र ओभरफ्लो हुन थालेकाले थप क्षति हुनसक्ने जोखिम छ। त्यसैले तालभन्दा तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तन नजिकबाट निगरानी गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिम रोकथाम तथा आपत्कालीन उद्धारका लागि अग्रिम तयारी गर्नसमेत दुवै देशका सम्बन्धित निकायलाई आग्रह गरिएको छ। चीन र नेपालका अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको दूतावासले जनाएको छ।
दूतावासले सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचनामात्र पछ्याउन, अपुष्ट सूचना फैलाउनबाट जोगिन र अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।