काठमाडौं– बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी परी मृत्यु हुनेको संख्या हालसम्म ५ सय ३८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ। तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपद्मा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।
बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ। ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कमा छैनन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।