काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चीनको केरुङ बजारमा करिब ८० जना नेपाली कन्टेनर चालक तीन दिनदेखि अलपत्र परेका छन्। सामान लिन केरुङ पुगेका उनीहरू बाढीका कारण नेपाल फर्कन नसकेका हुन्।
केरुङमा रहेका चालक कृष्णबहादुर लामिछानेका अनुसार चिनियाँ प्रशासनले अलपत्र नेपाली चालकको विवरण संकलन गर्दा ८० जनाले नाम टिपाएका छन्। उनीहरू आफ्नै खर्चमा होटलमा बसिरहेका छन् भने कतिपयको परिवारसँग समेत सम्पर्क हुन सकेको छैन। खर्च सकिन लागेकाले नेपाल फर्कने व्यवस्था मिलाइदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले केरुङमा अलपत्र नेपालीको यकिन विवरण प्राप्त नभएको बताए। उनका अनुसार रसुवागढी–धुन्चे सडकखण्डमा पुल तथा सडकमा ठूलो क्षति पुगेकाले तत्कालै उक्त नाकाबाट फर्काउन सम्भव छैन।
बाढीले रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वैकल्पिक रूपमा तातोपानी वा कोरला नाकाबाट फर्कने सम्भावना रहेकाले त्यसबारे मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था खोजिने प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।