काठमाडौं – नेपाल-चीन सीमा नजिकै तिब्बततर्फ थुनिएर बनेको तालको सतह केही घटेको छ । चिनियाँ अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः सुरु गरेका छन् ।
ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिमका कारण केही घण्टाअघि उद्धार कार्य स्थगित गरिएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा केही कमी आएपछि अहिले स्थिति सामान्य बन्दै गएको छ र उद्धार कार्य सुचारु गरिएको छ ।
पछिल्लो अपडेट अनुसार तालबाट पानी बाहिर बहने (ओभरफ्लो) क्रम रोकिएको छ । यसअघि बाढीको खतरा बढ्दा चिनियाँ अधिकारीहरूले करिब तीन घण्टाका लागि उद्धार प्रयास रोकेका थिए ।
तिब्बततर्फको यो जलाधार क्षेत्रमा आएको परिवर्तनकै कारण नेपालको भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम बढेको हो । तालको पानीको सतह घटेको र बहाव रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा केही राहत महसुस भए पनि बाढी पूर्वानुमान महाशाखाले अझै उच्च सतर्कता अपनाउन अनुरोध गरिरहेको छ।
विशेषगरी रसुवाको स्याफ्रुबेँसी मुग्लिनसम्मका त्रिशूली नदी किनारका बासिन्दालाई अर्को सूचना नआउँदासम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।