काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्युरो बैठकले केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोको अवस्थाबारे समीक्षा गर्दै नेपालमा उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ।
बैठकमा विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यको अवस्थाबारे छलफल भएको थियो। राष्ट्रपति सीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्यिरोङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
‘पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र प्रभावकारी समन्वयका साथ अघि बढाइएको छ। प्रभावित मानिसहरूको पुनर्स्थापना तथा विपत्तिपछिको व्यवस्थापनका लागि पनि व्यापक प्रयास भइरहेको छ’ सिन्हवाले लेखेको समाचारमा छ ।
यो विपत्ति अत्यधिक चिसो हिमाली क्षेत्रमा भएको, जहाँ भिराला उपत्यका, परिवर्तनशील मौसम, आसपासका धेरै हिमनदी तथा हिमतालहरू र सम्भावित भौगर्भिक जोखिमहरू रहेका उल्लेख गर्दै यो अवस्थाले आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती सिर्जना गरेको बैठकले जनाएको छ।
बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरूले उद्धारसम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।
खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।