काठमाडौं – रसुवामा आएको बाढीका कारण प्रभावित भएका जलविद्युत आयोजनाहरूमा फसेकाहरूको उद्धार गर्न आज डेडिकेटेड हेलिकप्टर उडाइने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले जलविद्युत आयोजनामा छुट्टै एउटा हेलिकप्टर उडाउन लागिएको जानकारी दिए ।
‘आजदेखि एउटा डेडिकेटेड हेलिकप्टर उडाने तयारी गरिरहेका छौँ । यसका लागि समन्वय भइरहेको छ । जलविद्युत आयोजनाका कर्मचारीसँगै त्यहाँ कोही स्थानीय भए उनीहरूको पनि उद्धार गर्नेछौँ’, उनले भने ।
कतिपय आयोजनाहरूको टनेलमा छिर्ने ठाउँमा माटोको थुप्रो भएकाले विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङमा डोजर चलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ । आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।
विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको छ ।
अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।