काठमाडौँ– नेपाल–चीन सीमावर्ती तिब्बतमा गएको भीषण पहिरोपछि नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा खोजी कार्य तत्कालका लागि रोकेका छन्।
गत बुधबारको पहिरो र त्यसपछि आएको लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो। पहिरोका कारण नदीको बहाव रोकिँदा बनेको तालमा पछिल्लो समय पानीको सतह तीव्र रूपमा बढिरहेको अधिकारीहरूले बताएका छन्।
लगातार भइरहेको वर्षाका कारण तालको पानी खतरनाक तहमा पुगेको र जुनसुकै बेला बाँध फुट्न सक्ने आशंका बढेपछि उद्धारकर्मीलाई जोखिमयुक्त क्षेत्रबाट टाढा रहन निर्देशन दिइएको छ। चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार अभियान रोकिएको जनाएका छन्।
बीबीसीका अनुसार विपत्तिपछि तिब्बततर्फ ५५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। बेपत्ता हुनेमा करिब २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ। उनीहरूमध्ये कैलाश मानसरोवर दर्शनका लागि पुगेका तीर्थयात्रीको संख्या उल्लेख्य रहेको जनाइएको छ।
अहिले चिनियाँ अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको तालको पानीको सतह र त्यसबाट उत्पन्न जोखिमलाई निरन्तर निगरानी गरिरहेका छन्। भारी वर्षा अझै जारी रहेकाले आगामी दिनमा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम थप बढ्न सक्ने आकलन गरिएको छ।
सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न प्रभावित क्षेत्रमा आवतजावतमा समेत कडाइ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।