काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री बोकेर साना निजी सवारीसाधनमा व्यक्तिगत रूपमा जाने क्रम बढ्दा सडकमा अत्यधिक ट्राफिक जाम भएको जनाएको छ।
सचिवालयले शुक्रबार बिहान पूर्वसमन्वयविना थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढेको बताएको हो। ‘यस्तो कार्यले सडकमा सवारी चाप बढेको छ। त्यसको प्रत्यक्ष असर उद्धार तथा राहत कार्यमा परेको छ,’ सचिवालयले भनेको छ।
ट्राफिक जामका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सले समेत सहज रूपमा बाटो पाउन नसकेको उसको दाबी छ। नेपाल सरकारका मुख्य उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनलाई समेत समयमै गन्तव्यमा पुग्न कठिनाइ भएको सचिवालयले जनाएको छ।
सचिवालयले विपद्को यस कठिन घडीमा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाहरूले देखाएको तत्परता सराहनीय रहेको उल्लेख गर्दै व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ।
‘राहत तथा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अबदेखि आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्नुहोला,’ सचिवालयले भनेको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री व्यवस्थापन गरी सोझै प्रभावित स्थानमा पुर्याउने व्यवस्था मिलाउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।