काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सयौं मानिस सम्पर्कविहीन भएका छन्। बाढीपछि सरकारले सुरक्षाकर्मी तथा सम्बन्धित सबै संयन्त्र परिचालन गरी उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ।
सरकारले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म ४६९ जनाको शव फेला परेको छ। बाढीका कारण आफन्तसँग सम्पर्कविहीन भएका परिवारजन भने आफ्ना सदस्यको अवस्था बुझ्न विभिन्न अस्पताल तथा उद्धार केन्द्रमा पुगिरहेका छन्।
बाढीमा परी उद्धार गरिएका व्यक्तिहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। उद्धार गरिएकामध्ये आफ्ना परिवारका सदस्य पनि हुन सक्ने आशंकामा आफन्तहरू बिहीबार दिनभर अस्पतालमा जानकारी खोजिरहेका थिए।
यही अवस्थालाई ध्यानमा राख्दै सरकारले उद्धार गरिएका व्यक्तिहरूको नामावली एकै ठाउँमा संकलन गरी सार्वजनिक गर्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को वेबसाइटमा उद्धार गरिएका व्यक्तिहरूको नामथर राखिएको छ।
प्राधिकरणका अनुसार उद्धार कार्य जारी रहेकाले थप व्यक्तिहरू उद्धार हुँदै गएपछि उनीहरूको नामावली पनि सोही वेबसाइटमा अद्यावधिक गरिनेछ।
त्यसैले भोटेकोशी बाढीपछि परिवारका सदस्य सम्पर्कविहीन भएका आफन्तहरूले प्राधिकरणको वेबसाइटमा गएर उद्धार गरिएकाहरूको नामावली हेर्न सक्नेछन्। नामावलीमा आफ्नो परिवारका सदस्यको नाम छ कि छैन भनेर खोजी गरी उनीहरूको अवस्थाबारे जानकारी लिन सकिन्छ।
नामावली हेर्न यहाँ ‘क्लिक’ गर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।