काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र क्यानडाबीच रहेको लेक ओन्टारियोको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने आदेशमा हस्ताक्षर गरेका छन्।
आदेशअनुसार आगामी ३० दिनभित्र नाम परिवर्तनको प्रक्रिया पूरा गरिनेछ र त्यसपछि अमेरिकी सरकारी नक्सा, दस्तावेज तथा अभिलेखमा नयाँ नाम प्रयोग गरिनेछ।
ट्रम्पले यस निर्णयको तुलना यसअघि मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ राख्ने निर्णयसँग गरेका छन्। उनले ठट्टा गर्दै भने,‘अमेरिकासँग एउटा खाडी र एउटा ताल दुवै छ। भविष्यमा एटलान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गर्नेबारे पनि सोच्नुपर्ने हुन सक्छ।’
ट्रम्पको निर्णयप्रति क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आपत्ति जनाएका छन्। उनले अमेरिकाले आफ्नो सरकारी कागजातमा नाम परिवर्तन गर्न सक्ने भए पनि क्यानडाका लागि उक्त जलाशयको नाम लेक ओन्टारियो नै रहने बताएका छन्।
‘हामीलाई थाहा छ अमेरिका नाम परिवर्तन गर्दैछ। तर‚ क्यानडालीहरूलाई वास्तविकता थाहा छ। यसको नाम लेक ओन्टारियो हो। पहिले पनि, अहिले पनि र सधैं यही रहनेछ,’ उनले भने।
लेक ओन्टारियो उत्तर अमेरिकाका पाँच ठूला ग्रेट लेक्समध्ये एक हो। यसको एक किनारमा अमेरिकाको न्यूयोर्क राज्य र अर्को किनारमा क्यानडाको ओन्टारियो प्रान्त रहेको छ। अमेरिका र क्यानडाबीचको अन्तर्राष्ट्रिय सीमा पनि यही ताल हुँदै जाने गर्छ।
ट्रम्पले आदेशमा हस्ताक्षर गर्ने क्रममा लेक ओन्टारियो अमेरिकी अर्थतन्त्र र सम्पदाको महत्त्वपूर्ण हिस्सा भएको बताएका छन्। उनका अनुसार यो ताल व्यापार, जलयातायात, रक्षा, कृषि र ऊर्जाका लागि महत्त्वपूर्ण छ। ग्रेट लेक्सको संरक्षणमा अमेरिकाले पछिल्लो १० वर्षमा करिब ४ अर्ब अमेरिकी डलर खर्च गरेको पनि उनले बताएका छन्।
ट्रम्पले पहिलोपटक अगस्ट २५ मा लेक ओन्टारियोको नाम परिवर्तन गर्ने विषयमा सार्वजनिक रूपमा बोलेका थिए। उनले अमेरिका र क्यानडाबीच आगामी दिनमा ठूलो व्यापारिक सम्बन्ध नहुने संकेत गर्दै तालको नाम परिवर्तन गर्नेबारे गम्भीर रूपमा विचार भइरहेको बताएका थिए।
त्यसको दुई दिनपछि उनले नाम परिवर्तनलाई औपचारिकता दिने आदेशमा हस्ताक्षर गरेका हुन्। लेक ओन्टारियोको नाम परिवर्तन गर्ने निर्णय अमेरिका र क्यानडाबीच व्यापार तथा अन्य विषयमा तनाव बढिरहेका बेला भएको हो।
अमेरिकाले हालै क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर मूल्यका विभिन्न वस्तुमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाउने निर्णय गरेको छ। त्यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा समान स्तरको प्रतिशोधात्मक ट्यारिफ लगाउने घोषणा गरेको छ।
क्यानडाले अमेरिकासँग उचित व्यवहार नगरेको ट्रम्पले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।