काठमाडौं– बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ ।
बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको छ । नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो ।
नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप ५ दिनको निःशुल्क सेवा अवधि उपलब्ध गराइने वल्र्डलिंकले जनाएको छ । यसबाट बाढीका कारण विस्थापित वा प्रभावित भएका ग्राहकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ । यस्तो विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले ग्राहकलाई सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको कम्पनीको सन्देश छ ।
वल्र्डलिंकले ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।