काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण दुई पत्रकार सम्पर्कविहीन भएका छन् भने एक पत्रकारका परिवारका सदस्य सम्पर्कविहीन भएका छन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएको जनाएको छ। समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
उता, महासंघको भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकार शेखर ढुंगाना पनि सम्पर्कविहीन भएको जानकारी नेपाल लाइभलाई दिएका छन्। शिल्पकारका अनुसार मानसरोवर गएका ढुंगाना सम्पर्कमा आएका छैनन्।
यस्तै, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएको महासंघले जनाएको छ। बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले महासंघलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले उनीहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेको जनाएको छ। ‘यसर्थ सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सम्बद्ध निकायसँग महासंघ माग गर्दछ। ती सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्थामा सहयोग गर्न पनि सबैमा अपिल गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।