काठमाडौँ– त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। बाढीका कारण बैरेनी क्षेत्रमा सडकमा जम्मा भएको हिलो तथा लेदो हटाउने कामलाई तीव्र पारिएको छ।
सडक खुलाउने कार्यमा सुरक्षाकर्मीहरू स्थानीय बासिन्दासँग सहकार्य गर्दै परिचालित भएका छन्। सडकमा थुप्रिएको लेदो ठुलो मात्रामा रहेकाले सफाइ कार्य भइरहेको भए पनि क्षतिको अवस्था हेर्दा तत्कालै यातायात नियमित हुने सम्भावना कम रहेको बताइएको छ।
भोटेकोशीमा बुधबार आएको ठुलो बाढीपछि रसुवादेखि चितवनसम्मका विभिन्न क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १६५ जनाको शव फेला परेको र ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।
सडक तथा पुलका संरचना क्षतिग्रस्त भएपछि काठमाडौँसँग जोडिएका कतिपय जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ। सडक अवरोधका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
बाढीले भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको सरकारले जनाएको छ। यातायात तथा सञ्चार सेवामा आएको अवरोधले प्रभावित क्षेत्रको जनजीवन थप कठिन बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।