काठमाडौं– चीनतर्फबाट भोटेकोशीमा आएको बाढीपहिरोका कारण देशभरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। विभिन्न सडक अवरुद्ध हुँदा करिब ८०० देखि १ हजारसम्म सवारीसाधन फसेका वा डुबेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाका लागि गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस सम्पर्कविहीन छन्। ती बसमा रहेका यात्रु तथा चालक–कर्मचारीको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन।
'अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गोसाईंकुण्ड गएकामात्रै १८ देखि २० वटा यात्रुवाहक बसहरू अहिलेसम्म सम्पर्कविहीन छन्,' अध्यक्ष सिटौलाले भने, 'ती बसका ३ जना कर्मचारी मात्र सम्पर्कमा आएको भन्ने अपुष्ट खबर छ, बाँकी यात्रु र गाडीको अवस्था अज्ञात छ।'
उनका अनुसार फसेका यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब २५-३० जनाको टोली घटनास्थलतर्फ पठाइएको भए पनि बाटो अवरुद्ध भएका कारण टोली बिचबाटै फर्किन बाध्य भएको थियो।
पोखराबाट गएको एउटा गाडीका पाँच जना मात्र सम्पर्कमा आएका छन् भने गोरखाबाट गएको अर्को गाडीका यात्रुसँग पनि सम्पर्क टुटेको महासंघले जनाएको छ।
बाढीपहिरोका कारण नागढुंगा–मुग्लिनसहितका मुख्य सडक बन्द हुँदा करिब ३०० यात्रुवाहक बससहित ठूलो संख्यामा मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
उद्धार तथा राहतका लागि महासंघले आपत्कालीन बैठक बोलाएको छ। अध्यक्ष सिटौलाले स्थानीय प्रशासनसँग समन्वय गरेर यात्रुको उद्धार गर्न व्यवसायी तयार रहेको बताए।
उनले उच्च जोखिमका क्षेत्रमा प्रशासनसँग समन्वय नगरी आफूखुसी सवारी नचलाउन व्यवसायी तथा चालकलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।