काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार राति सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रबाट घाइते तथा जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी क्याम्पमा लैजाने तयारी गरिएको छ। गम्भीर घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचारको व्यवस्था गरिनेछ।
घाइतेको स्वास्थ्य अवस्था र जोखिमको स्तरअनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारको काम अघि बढाइने जनाइएको छ। यसका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ।
यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।