काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा करिब आठ टन राहत सामग्री पठाइएको छ।
नेपाली सेनाका आठ वटा ट्रकमार्फत ती राहत सामग्री बुधबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, बालबालिकाका लागि एक हजार थान डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती र ५०० थान सोलार बत्तीका प्लेट रहेका छन्।
त्यसैगरी, प्रभावित क्षेत्रमा विद्युत् तथा आवश्यक सेवा सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले ३० केभीए क्षमताको एक थान जेनेरेटरसमेत पठाइएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आवश्यक सामग्री तत्काल पुर्याउने व्यवस्था गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।