काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिन्धुपाल्चोकसहित पाँच जिल्लामा पछिल्लो १ देखि ३ घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।
प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, लमजुङ, तनहुँ, गोरखा, धादिङ आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना छ। उक्त वर्षाले मर्स्याङ्दी, बूढीगण्डकी, त्रिशूली, भोटेकोशीलगायतका नदी तथा सो क्षेत्र भएर बहने साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने देखिएको छ।
यससँगै नदी तथा खोलामा बाढीको जोखिमसमेत रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
विशेषगरी नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तथा खोला किनारतर्फ नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनामा ध्यान दिन प्राधिकरणले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।