भोटेकोशी वाढीवाट प्रभावित भएका विभिन्न जलविधुत आयोजनाका २०० कर्मचारी सम्पर्क बिहिन भएका छन् । सरकारका अनुसार विभिन्न आयोजनाका उनीहरु सम्पर्क विहिन छन् ।
त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना
चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस क्षेत्रमा ६ जना
चिलिमे जलविद्युत् केन्द्रको आवास क्षेत्रमा १ जना
त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना
रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना
त्रिशूली–३ ‘ए’ को पावरहाउस मर्मतमा संलग्न ४५ जना
त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना
रसुवा वितरण केन्द्रका २ जना
धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जना रहेका छन् ।
रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा तथा नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा अवरुद्ध भएको छ । धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेको छ । डोजर प्रयोग गरी सफाइ भइरहेको छ भने विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । त्रिशूलीस्थित २२० केभी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हब टावरमा समस्या आएपछि प्रसारण अवरुद्ध भएको छ ।
उद्धार तथा विद्युत् पुनःस्थापनाको प्रयास
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको छ । सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघोडा सबस्टेशन चालु गर्ने तयारी भइरहेको छ । गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सम्भव भएका स्थानमा पेट्रोलिङ, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको छ । विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई प्रणाली सुचारु गर्न आवश्यक निर्देशन दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।