काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।
सरकारले बुधबार बिहान ८:४० बजे भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले त्यसमा सहयोग गर्न अपिल गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।
बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको थियो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको सरकारले जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता रहेको सरकारले जनाएको छ ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सरकारले सबैमा अपिल गरेको छ ।
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले सरकारले उल्लेख गरेका बैंक खातामार्फत रकम जम्मा गर्न सक्नेछन् ।
-1787752942.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।