काठमाडौं– रसुवामा आएको भीषण बाढीपछि प्रभावितको उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका १५ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाली सेनाका अनुसार बाढी प्रभावितको उद्धारका लागि सेनाका ७ र निजी क्षेत्रका ८ गरी जम्मा १५ वटा हेलिकप्टरबाट उद्धार कार्य भइरहेको छ ।
हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढीका कारण घाइते भएकाहरूको उपचारका लागि पनि सेनाले स्वास्थ्य टोली परिचालन गरेको छ । वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरिरहेको छ ।
यसैगरी विपद् व्यवस्थापनका क्रममा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयोग हुने फिल्ड अस्पतालको सेट ‘भीष्म क्युब’ (BHISHMA CUBE)–१ सहित आवश्यक मेडिकल सामग्री, औषधि तथा उपकरणहरू त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी र निजी क्षेत्रका हवाई साधनलाई परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।