काठमाडौं – रसुवामा आएको भीषण बाढीबाट ज्यान जोगाउन मैलुङमाथिको पाखाको ओडारमा आश्रय लिएका ८ जना स्थानीयले तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
बाढीबाट फसेका मध्येका अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू ओडारमा सुरक्षित रहेको जानकारी दिँदै हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेका हुन्।
“हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौँ। फोन उठाउन सकिँदैन। कृपया धेरै साथीलाई बगायो,” उनले लेखेका छन्।
उनका अनुसार आफूहरू बसेको स्थानबाट करिब ३०० जनाभन्दा बढी मानिस फसेको देखिरहेको छ।
“राज्यले हेलिकप्टरबाट उद्धार गरिदिनुस्। हामी बेलुकासम्म उत्रन्छौँ। हामी सुरक्षित छौँ,” न्यौपानेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
मैलुङ क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि उद्धार तथा खोजी कार्य जारी छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन्। हेलिकप्टरमार्फत समेत उद्धार कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।