काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र परिचालन गरेको छ।
प्रभावित नागरिकको उद्धारदेखि स्वास्थ्य सेवा, सडक खुलाउने, ड्रोन र K9 स्निफर डगमार्फत खोजी तथा नदी तटीय क्षेत्रमा पूर्वसूचनासम्मका कामलाई तीव्रता दिइएको छ।
सशस्त्र प्रहरीले हालसम्म गरिरहेका प्रमुख कामहरू यस्ता छन् :
- उद्धार तथा स्थानान्तरण : बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धार गर्ने काम जारी छ।
- घाइतेको उपचार : बाढीमा परेका गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार दिन चिकित्सा तथा उद्धार (MEDEVAC) टोली Mass Casualty Vehicles सहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
- एपीएफ अस्पतालमा बेड तयारी : बाढी प्रभावितको उपचारका लागि एपीएफ अस्पतालमा आवश्यक बेड खाली गरी तयारी अवस्थामा राखिएको छ।
- तीन जिल्ला ‘अलर्ट’मा : रसुवाभन्दा तलका तटीय क्षेत्र नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखिएको छ।
- साइरन र माइकिङ : नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गरी नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान सूचना दिइरहेको छ।
- बिदुरमा हेल्थ क्याम्प : नुवाकोटको बिदुरमा अस्थायी हेल्थ क्याम्प स्थापना गरी सञ्चालन गर्ने तयारी भइरहेको छ।
- राहत सामग्री प्रभावित क्षेत्रमा : सशस्त्र प्रहरीका युनिटमा तयारी अवस्थामा रहेका डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्याइँदै छन्। देशका अन्य भागमा रहेका DRS कन्टेनरसमेत प्रभावित क्षेत्रमा केन्द्रित गरिएको छ।
- चिनियाँ सुरक्षा निकायसँग समन्वय : भोटेकोसी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा सम्भावित हिमताल विस्फोट (GLOF) वा थप बाढीको जोखिमबारे चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर सूचना आदानप्रदान भइरहेको छ।
- पहिरो हटाएर सडक खुलाउँदै : नदी किनार, जोखिमयुक्त बस्ती तथा मुख्य सडक र कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको छ।
- ड्रोनबाट खोजी : नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा थुनिएका वा हराइरहेका नागरिकको खोजी तथा क्षतिको मूल्यांकनका लागि ड्रोन परिचालन भइरहेको छ।
- K9 टोली परिचालन : रसुवागढी भन्सार तथा यार्डमा बाढीमा पुरिएका व्यक्तिको खोजीका लागि K9 स्निफर डगसहितको खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
- हेलिप्याड निर्माण : प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड (Landing Zones) तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाउने काम भइरहेको छ।
- पानीजन्य रोग रोकथाम : विस्थापित शिविरमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्न सशस्त्र प्रहरीका टोलीलाई निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।