काठमाडौं – कैलाश मानसरोवर यात्राका लागि मंगलबार काठमाडौंको हिमालयन ग्लेसियरमार्फत रसुवा पुगेका ५० जना यात्रु सम्पर्कविहीन भएका छन्।
उनीहरू रसुवाको नेपाल–चीन सीमाक्षेत्रमा रहेका बेला बाढी आएपछि सम्पर्क टुटेको बताइएको छ।
सम्पर्कविहीन हुनेमा ४० जना भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिक र १० जना नेपाली रहेको हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेले जानकारी दिएका छन्।
पाण्डेका अनुसार यात्रुहरू कैलाश जाने क्रममा मंगलबार रसुवाको बोर्डर क्षेत्रमा पुगेका थिए। त्यही क्षेत्रमा बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएको छ। यात्रुहरूको अवस्था यकिन गर्न तथा सम्पर्क स्थापित गर्न प्रयास भइरहेको पाण्डेले बताए।
यसैबीच, रसुवामा बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली परिचालन गरिएको छ। हेलिकप्टरमार्फत समेत खोज तथा उद्धारको तयारी भइरहेको छ।
सम्पर्कविहीन यात्रुहरू सुरक्षित अवस्थामा छन् वा छैनन् भन्नेबारे भने अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।