काठमाडौं– रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा आएको अचानकको बाढीपछि नेपाली सेनाले खोज तथा उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
भदौ १० गते बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत खोला तथा नदी तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको हो।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पतालमा सहयोग पुर्याउन सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) समेत एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको सेनाले जनाएको छ।
त्यस्तै, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।
बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने जनाइएको छ।
यसैबीच, बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सेनाले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सेनाले प्रभावितको उद्धार तथा राहत कार्यमा स्थानीयस्तरबाट समेत आवश्यक सहकार्य गर्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।