धादिङ– रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको जानकारी प्राप्त भएकाले नदीको बहाव बढ्न सक्ने र त्यसबाट विपद्को जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ।
प्रशासनले नदीमा माछा मार्ने, बालुवा–गिट्टी संकलनलगायत अन्य काम गर्ने व्यक्ति तथा मजदुरलाई नदीमा नजान आग्रह गरेको छ। नदीमा गइसकेकाहरूलाई समेत तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।

त्यस्तै, नदी आसपासमा बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारीसहित उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीको बहाव तथा पानीको सतहमा निगरानी राख्न र कुनै विपद्जन्य घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
कुनै घटना भए जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा इकाइमा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
आपत्कालीन अवस्थामा नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।