काठमाडौं– अमेरिकी सरकारले करिब २ लाखसम्म विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने तयारी गरेको छ। यो कदम लागू भएमा एकैपटक ठूलो संख्यामा भिसा रद्द गर्ने अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो कारबाहीमध्ये एक हुन सक्नेछ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले आगामी केही सातामा बी–१ र बी–२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने बताएका हुन्। सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका यी भिसामध्ये अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन दिने प्रक्रियामा रहेका व्यक्तिमाथि कारबाही हुन सक्नेछ।
‘भिसा रद्द गर्ने तयारीमा रहेका यस्ता व्यक्तिहरू सुरुमा छोटो समयका लागि पर्यटक वा व्यवसायीका रूपमा अमेरिका प्रवेश गरेको थिए। तर‚ पछि यहीँ स्थायी रूपमा बस्न शरणका लागि आवेदन दिएका थिए,’ उनले भने।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढ्ने भएकाले प्रभावित हुने व्यक्तिको संख्या परिवर्तन हुन सक्छ। भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट देश निकाला गरिने भन्ने होइन।
शरणको आवेदन विचाराधीन रहेका व्यक्तिको आप्रवासनसम्बन्धी स्थिति भने प्रभावित हुन सक्छ। तर‚ उनीहरूको व्यापारिक वा पर्यटक भिसाको हैसियत समाप्त हुनेछ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले भिसा तथा आप्रवासनसम्बन्धी नियमहरू थप कडा बनाएको छ। भिसा आवेदकसँग सामाजिक सञ्जालसम्बन्धी विवरण माग्ने, केही आवेदकका लागि महँगो भिसा धरौटीको व्यवस्था गर्ने तथा केही देशका नागरिकलाई भिसा दिन रोक लगाउनेजस्ता कदम चालिएका छन्।
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डोले केही मानिस व्यापारिक वा पर्यटक भिसामा अमेरिका प्रवेश गरेपछि त्यहाँ बस्नका लागि शरण आवेदन दिने गरेको बताएका छन्। उनका अनुसार शरण प्रक्रियालाई आप्रवासन कानुनबाट बच्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने सरकारको धारणा छ।
१८ महिनामा १ लाख ७५ हजार भिसा रद्द
बी–१ भिसा सामान्यतया व्यापारिक यात्राका लागि जारी गरिन्छ भने बी–२ भिसा पर्यटन, परिवार भेटघाट वा उपचारजस्ता प्रयोजनका लागि दिइन्छ।
यद्यपि, प्रस्तावित कारबाहीबाट प्रभावित हुन सक्ने भिसाधारीमध्ये कति जनाले शरणका लागि आवेदन दिएका छन् वा दिन लागेका छन् भन्ने अझै स्पष्ट छैन।
अमेरिकी विदेश मन्त्रालयले पछिल्लो १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाएको छ। यसमा अपराधको आरोप लागेका वा दोषी ठहरिएका व्यक्तिका साथै अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने केही व्यक्तिहरू पनि समावेश छन्।
प्रस्तावित नयाँ कदम लागू भएमा पर्यटक वा व्यापारिक भिसामा अमेरिका पुगेपछि शरण प्रक्रियामा प्रवेश गरेका विदेशी नागरिकमाथि अमेरिकी सरकारले थप कडाइ गर्ने संकेतका रूपमा यसलाई हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।