विराटनगर– मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि एक नवजात शिशु फेला परेका छन्। उनलाई प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ।
प्रहरीका अनुसार करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा उक्त स्थानमा फेला परेको हो। शिशु फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएको जनाएको छ।
हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।