काठमाडौं– अमेरिकाको नेभाडा–क्यालिफोर्निया सीमाक्षेत्र नजिकै रहेको रेनो सहरको जंगलमा लागेको भीषण डढेलो तीव्र गतिमा फैलिएको छ।
शनिबारबाट सुरु भएको डढेलो आइतबारसम्म १३ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्। डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
डढेलोका कारण कम्तीमा ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन सर्वसाधारण र तीन जना आपत्कालीन सेवाका कर्मचारी रहेको अधिकारीहरूले बताएका छन्। डढेलोबाट धेरै भवन तथा संरचना नष्ट भएका छन्।
अधिकारीहरूले करिब ४२ हजार मानिसलाई प्रभावित क्षेत्रबाट बाहिर जान आदेश दिएका छन्। थप करिब ४५ हजार मानिसलाई आवश्यक परे जुनसुकै बेला सुरक्षित स्थानमा सार्न सकिने भन्दै सतर्क रहन भनिएको छ।
अधिकारीका अनुसार तीव्र हावाका कारण सुक्खा वनस्पतिमा डढेलो निकै छिटो फैलिरहेको छ। डढेलोको व्यवहार अत्यन्त खतरनाक र असामान्य देखिएको उनीहरूको भनाइ छ।
डढेलोका कारण वासो काउन्टीमा आइतबार करिब १० हजार विद्युत् ग्राहक विद्युतविहीन भएका थिए। रेनो वासो काउन्टीको मुख्य तथा सबैभन्दा बढी जनसंख्या भएको सहर हो।
नेभाडाका गभर्नर जो लोम्बार्डोले शनिबार राति वासो काउन्टीमा आपत्काल घोषणा गरेका छन्। उनले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न आग्रह गरेका छन्।
गभर्नर लोम्बार्डोले अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको भन्दै राज्य सरकार स्थानीय प्रशासन र उद्धारकर्मीसँग मिलेर जनधनको सुरक्षा तथा उद्धारका लागि आवश्यक सबै स्रोत परिचालन गरिरहेको बताएका छन्।
अधिकारीहरूले प्रभावित क्षेत्रका मानिसलाई डढेलोको अवस्थाबारे निरन्तर नयाँ सूचना लिन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।