कोनाक्री– गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहान सहरको सबैभन्दा ठूलो ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने फोहोरसँगै घर तथा सवारीसाधन पुरिएका छन्।
आइतबार बिहान करिब २ बजेदेखि परेको भारी वर्षापछि ल्यान्डफिलमा जम्मा भएको फोहोरमाथिबाट पानी बग्न थालेको थियो। पानीको दबाब बढेपछि फोहोरको ठूलो थुप्रो अचानक भासिँदा ल्यान्डफिल नजिकै रहेका झुपडी तथा अन्य संरचना पुरिएका हुन्।
दुर्घटनापछि उद्धार तथा खोजी अभियान जारी छ। उद्धारकर्मीहरूले पुरिएका मानिसहरूको खोजी गरिरहेका छन्। घाइते तथा उद्धार गरिएका व्यक्तिहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ।
घटना कोनाक्रीको सबैभन्दा ठूलो खुला फोहोर डम्पिङ क्षेत्र दार एस सलाममा भएको हो। सैन्य इन्जिनियरिङ बटालियनका सफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्ड मामादो बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो।
ल्यान्डफिल वरपर बसोबास गर्दै आएका मानिसहरूलाई यसअघि नै क्षेत्र खाली गर्न सूचना दिइएको थियो। सूचनापछि केही परिवारले उक्त क्षेत्र छाडिसकेका थिए। तर‚ ल्यान्डफिल भासिँदा पनि धेरै मानिस त्यही क्षेत्रमा बसिरहेका थिए।
गिनी खनिज स्रोतका हिसाबले अफ्रिकाको धनी देशमध्ये एक हो। यहाँ विश्वकै ठूलोमध्येको बक्साइट भण्डार रहेको छ। साथै, फलाम अयस्क, सुन र हीरालगायतका बहुमूल्य खनिज पनि गिनीमा पाइन्छन्।
तर‚ प्राकृतिक स्रोतमा धनी भए पनि गिनीले गम्भीर गरिबीको सामना गरिरहेको छ। विश्व बैंकका अनुसार देशको ४३.७ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबीको रेखामुनि जीवन बिताइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।