काठमाडौं– बंगलादेशको औद्योगिक क्षेत्रमा संकट गहिरिँदै गएको छ। ढाका ट्रिब्युनको रिपोर्टअनुसार पछिल्लो दुई वर्षमा देशका सात प्रमुख औद्योगिक क्षेत्रमा ४५७ वटा उद्योग स्थायी रूपमा बन्द भएका छन्।
बन्द भएका उद्योगमध्ये १०८ वटा तयारी पोसाक तथा कपडा उद्योगसँग सम्बन्धित छन्। उद्योग बन्द हुँदा त्यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ। सन् २०२६ को जनवरीदेखि अगस्टसम्म मात्रै ९५ वटा उद्योग बन्द भएका छन्। योसँगै ६१ हजार ८८१ जनाले प्रत्यक्ष रोजगारी गुमाएका छन्।
पछिल्लो दुई वर्षमा बन्द भएका ४५७ उद्योगमध्ये कपडा तथा तयारी पोसाक उद्योगसँगै अन्य उत्पादनमूलक क्षेत्रका उद्योग पनि छन्। तीमध्ये २८७ वटा उद्योग अन्य उत्पादनमूलक व्यवसायसँग सम्बन्धित थिए।
यसले बंगलादेशको औद्योगिक संकट कुनै एउटा क्षेत्रमा मात्र सीमित नरहेको देखाउँछ। बढ्दो उत्पादन लागत र ऊर्जा संकटका कारण विभिन्न प्रकारका उद्योग प्रभावित भइरहेका छन्।
मयमनसिंहको भालुकामा ग्यासमा निर्भर ९९ वटा उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेका थिए। बंगलादेशी उद्योगका लागि अहिले सबैभन्दा ठूलो समस्या ऊर्जा अभाव बनेको छ। अगस्टको सुरुआतमा गाजीपुर क्षेत्रमा ग्यासको दबाब अत्यन्तै कम भएपछि ७०० देखि ८०० वटा उद्योगमा उत्पादन रोकेर कर्मचारीलाई बिदा दिनुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।