काठमाडौं– सिरियाको इद्लिबस्थित अबु–जुहुर विमानस्थलमा गत साता इजरायलले हमला गरेको थियो।
उक्त विमानस्थलमा टर्कीले आफ्ना सैनिक तैनाथ गर्ने तयारी गरिरहेको दाबी गर्दै इजरायलले हमला गरेको बताइएको छ। तर‚ टर्की र अमेरिकाले भने यो दाबी अस्वीकार गरेका छन्।
टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हमलामार्फत मध्यपूर्वलाई थप अस्थिर बनाउने प्रयास गरेको आरोप लगाएको छ। टर्कीले यस्तो परिस्थितिमा आफू नेतान्याहुको ‘जालमा’ नफस्ने स्पष्ट पारेको छ।
यस विषयमा बिहीबार टर्कीका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेतान्याहुजस्ता व्यक्तिले बिछ्याएको जालमा नफस्ने पर्याप्त अनुभव हामीसँग छ। हाम्रो क्षेत्रको शान्ति र स्थिरता नष्ट गर्नु नै नेतान्याहुको उद्देश्य हो।’
इजरायली हमलाका कारण विमानस्थलको रनवेमा क्षति पुगेको बताइएको छ। त्यसपछि इजरायलले हमला हुनुभन्दा केही घण्टाअघि टर्कीको एउटा सैन्य प्रतिनिधिमण्डल उक्त विमानस्थल पुगेको दाबी गरेको थियो। तर‚ टर्कीले यो दाबी पनि अस्वीकार गरेको छ।
सिरियाको एक पर्यवेक्षण संस्थाका अनुसार टर्कीको प्रतिनिधिमण्डल विमानस्थलको पुनर्निर्माणको सम्भावनाबारे निरीक्षण गर्न मात्र त्यहाँ पुगेको थियो। तर‚ नेतान्याहुले टर्कीका सैनिकहरू उक्त विमानस्थलमा पुगेको दाबी गर्दै यसलाई इजरायलको सुरक्षाका लागि खतरा भएको बताएका छन्।
इजरायली आर्मी रेडियोलाई उनले भनेका छन्,‘टर्कीको सेना उत्तरतर्फ आउनेछ भने हामी त्यसलाई स्वीकार गर्ने छैनौं। किनभने यो हाम्रो लागि खतरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।