गोरखा– प्रहरीले भरुवा बन्दुक बोकेको फोटो फेसबुकमा पोस्ट गर्ने एक जना पक्राउ गरेको छ। उनीसँगै लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एक जना पनि पक्राउ परेका छन्। उनीहरू गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी ‘प्रेम सुनार’ मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटो सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको थियो। उनलाई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने विष्णुको भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।