दाङ–दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा लुकाएर राखिएका ३७ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट ती बन्दुक बरामद गरिएको हो।
प्रहरीले भदौ १ देखि ४ गतेसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा जंगलमा लुकाइछिपाइ राखिएका एकनाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित भित्रीखोला सामुदायिक वनबाट २ थान बन्दुक बरामद गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बबई गाउँपालिका–४ स्थित भुमेश्वर सामुदायिक वन, प्याउटे भुत्कुले सामुदायिक वन तथा बंग्लाचुली गाउँपालिका–४ क्षेत्रबाट गरी १४ थान बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।
यसैगरी, लमही, तुलसीपुर, बबई, घोराही र बंग्लाचुली क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट समेत बन्दुक बरामद गरिएको छ।
प्रहरीका अनुसार जंगलमा शिकार तथा अन्य अवैध गतिविधिका लागि लुकाएर राखिएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अभियानबाट ठूलो संख्यामा अवैध हतियार बरामद भएको जनाएको छ। बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चार दिनकै अवधिमा यति धेरै हतियारहरु कहाँबाट आए भन्ने जानकारी प्रहरीले दिएको छैन । अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।